काठमाडौं– यसपालि पुसमा पोहोरको तुलनामा कम दरमा महँगी बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पोहोर पुसमा ६.८२ प्रतिशतले बढेको महँगी यसपालि पुसमा ३.५६ प्रतिशत मात्रैले बढेको तथ्यांक केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको हो ।

गत पुसमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.२७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको महँगी २.९९ प्रतिशतले बढेको हो ।

गत साउनदेखि पुससम्मको ६ महिनामा आयात ४.८ प्रतिशतले घटेको र निर्यात ६.१ प्रतिशतले बढेको देखिएको छ । फलस्वरुप चालु आर्थिक वर्ष २०७७–७८ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ५.८ प्रतिशतले घटेर ६०० अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ । उक्त अवधिमा ६६१ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको नेपालले ६० अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु विदेश निर्यात गरेको छ ।

त्यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.१ प्रतिशतले र अमेरिकी डलरमा ६.७ प्रतिशतले बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार गत साउनदेखि पुससम्मको अवधिमा ४९५ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण प्राप्त भएको छ ।

राष्ट्र बैंकका अनुसार शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोड रुपैयाँले बचतमा छ ।

त्यसैगरी, कुल विदेशी विनिमय सञ्चिति गत असारको तुलनामा ९.७ प्रतिशतले बढेर १२ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । असार मसान्तमा विदेशी विनियम सञ्चिति ११ अर्ब ६५ करोड थियो । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले अहिलेकै अनुपातको आयात धान्न साढे १२ महिनालाई पुग्छ ।

संघीय सरकारले यस अवधिमा ४१५ अर्ब ७५ करोड खर्च गरेको र ४२२ अर्ब २४ करोड राजस्व संकलन गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ९.२ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी ११.० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २२.० प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर १५.० प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय