
वीरेन्द्रनगर– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चालु आव २०७७–७८ को ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी तथा फलफूल कारोबार भएको छ ।
कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले संकलन गरेको बजारको तथ्यांक अनुसार ६ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० को कारोबार भएको पाइएको हो ।
मूलतः वर्षे तथा हिउँदे तरकारी, बेसार, अलैंची, तरकारी बीउ, वर्षे मकै, बदाम, कन्येच्याउ, लिची, आँप, सुन्तला, वर्षे तथा हिउँदे आलु, जुनार (मौसम), अदुवा र लसुनमा भएको कारोवबरलाई पहिलोपटक तथ्यांकमा समेटिएको निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।
‘हामीले जिल्लामा पहिलोपटक फलफूल र तरकारी कारोबारको तथ्यांक संकलन गरेका हौं,’ निर्देशक रोकायले भने, ‘उत्पादित बालीको आन्तरिक तथा बाह्य कारोबार कति भएको छ भन्ने कुराको यो प्रारम्भिक तथ्यांक हो,’ उनले भने ।
उनका अनुसार सुर्खेत जिल्लाभित्र २३ करोड १४ लाख २३ हजार ४०० बराबरको ५३ हजार ५५३ क्विन्टलको र निर्यात ८० करोड ५३ लाख ६९ हजार २०० बराबरको दुई लाख २५ हजार ५८९ क्विन्टल भएको उनले भने ।
निर्देशनालयका अर्थविज्ञ प्रिया थापाले यहाँ उत्पादित कन्येच्याउ दुई हजार ७२५ क्विन्टल (६ करोड २६ लाख ७५ हजार, हिउँदे तरकारी २० हजार ५६७ क्विन्टल (५ करोड १७ लाख एक हजार र वर्षे तरकारी १८ हजार ४८८ क्विन्टल (पाँच करोड ९१ लाख ६१ हजार ६०० बराबरको आन्तरिक कारोबार भएको बताइन् ।