काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा घोषणा भएको चुनावको लागि राज्यको ढुकुटीबाट अर्बौं रुपैयाँ खर्च हुने भएको छ । आन्तरिक किचलो मिलाउन नसकेको निहुँमा प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते गर्ने भनी तोकेको निर्वाचनका लागि अर्थ मन्त्रालयले पहिलो चरणमा सात अर्ब बराबरको बजेट उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा सात अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिए ।

ओलीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेकी छिन् । अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको बताए । उनले निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिए ।

मंगलबारै निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले आयोगसँग छलफल भएको जानकारी दिए । पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन नयाँ संसद गठन भएपछि अनुमोदन हुने बताए ।

सो अवसरमा अर्थसचिव शिशिरकुमार ढुंगानाले सो परियोजनाका लागि स्रोत सुनिश्चित गरिएको बताए । उनले प्रसारण लाइन र सडक परियोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अगाडि बढाउन उक्त स्रोतबाट खर्च गरिने जानकारी दिए । प्रसारण लाइनतर्फ नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम अगाडि बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय