काठमाडौं– सिटिजन्स बैंक लिमिटेडले ग वर्गको वित्तीय संस्था सिर्जना फाइनान्स लिमिटेड प्राप्त गर्ने भएको छ । बुधबार उक्त कम्पनीसँग प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

विराटनगरमा आयोजित एक कार्यक्रममा सिटिजन्सका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारी भइरहेको बैंकको विज्ञप्तिमा छ । माघ २७ गतेसम्मको तथ्यांक अनुसार सिटिजन्सले सिर्जना फाइनान्स लिमिटेड प्राप्त गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब एक खर्ब ३४ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब एक खर्ब ११ अर्ब रुपैयाँ हुनेछ ।

प्राप्तिपश्चात बैंकको कुल शाखा १८८ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्तिपश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २१ वटा शाखाहरु रहेकोमा प्राप्तिपश्चात् उक्त प्रदेशमा २८ वटा शाखाहरु हुनेछन् ।

सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । प्राप्तिपश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संसाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ एकाइबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकता डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय