काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारणसभा बुधबार वीरगन्जमा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस सेयर र प्रतिसेयर २० (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक सात अर्ब १९ करोड ९९ लाख ७० हजार ६६१ रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

सभा कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभामा स्वागत मन्तव्य एवं वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष संघईले समीक्षा वर्षमा कम्पनीले कुल बिमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३०.०९ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।

अध्यक्ष संघईले दुई दशकमा जीवन बिमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिबीच अझै नयाँ उचाइमा अगाडि बढाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी आगामी दशकको अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साना लगानीकर्ताको समेत कम्पनीको सेयरमा सहज पहुँचका लागि कम्पनीले विद्यमान प्रतिसेयर अंकित मूल्य १०० को व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर अंकित मूल्य ५० कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले बिमा समितिबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको छ । सम्पत्ति र दायित्वबीच सन्तुलन कायम गर्न पुँजीगत लगानी वृद्धि गर्न आवश्यक भएकोले मुलुकका विभिन्न सहरहरुमा दीर्घकालीन पुँजीगत लगानी गर्नेतर्फ ठोस कार्य गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढेको छ ।

सभाबाट आर्थिक वर्ष २०७५–०७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, आयव्यय हिसाब, नगद प्रवाह विवरण एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव सभाद्वारा पारित भएको छ ।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा विमलप्रसाद ढकाल र कृष्णराज लामिछानेलाई निर्विरोध चयन गरेको छ ।

साथै सञ्चालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी सोको स्वीकृतिको लागि बिमा समितिमा पठाउने निर्णय गरेको छ ।

हालसम्म उक्त कम्पनीले १०५.५७ अर्ब रुपैयाँ लगानी गरेको छ भने जीवन बिमाकोष १०१ अर्ब ७८ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा माथि पुगेको छ । कम्पनीमा १ लाख ६९ हजार ४८७ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब २ सय शाखा तथा उपशाखामार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाखभन्दा बढी व्यक्ति बिमित भइसकेका छन् । ग्राहकको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय