काठमाडौं– इटलीको मिलानमा एकजना ४६ वर्षे पुरुषले स्पेनिस फुटबलर पाब्लो मारीलगायत ६ जनामाथि छुरा प्रहार गरेको छ । मारीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मानसिक समस्याबाट ग्रस्त ४६ वर्षे पुरुष आक्रमणकारीलाई पक्राउ गरिएको समाचार एजेन्सीहरुले बताएका छन् ।

इंग्लिस प्रिमियर लिग टोली आर्सनलका डिफेन्डरसहित ६ जना व्यक्तिमाथि मिलानको अस्सागो क्षेत्रको किनमेल केन्द्रमा बिहीबार साँझ छुरा प्रहार भएको हो । उक्त घटनामा सुपरमार्केटका ३० वर्षे क्यासियर मारिएको स्थानीय सञ्चारमाध्यम स्काइ इटलीले जनाएको छ । घाइतेमध्ये दुईजनाको स्थिति चिन्ताजनक रहेको तर पाब्लो सामान्य घाइते भएको मोन्जाका प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।

अस्थायी खेलाडीका रुपमा खेल्ने क्रममा पाब्लो इटालियन सिरी एको मोन्जा क्लबमा छन् । मारीको प्यारेन्ट क्लब आर्सनलले एक विज्ञप्ति जारी गर्दै इटलीमा छुरा प्रहार भएको उक्त डरलाग्दो घटनाबाट स्तब्ध भएको जनाएको छ । ‘हामी पाब्लोको एजेन्टको सम्पर्कमा छौं र उनले पाब्लो अस्पतालमा रहेको तथा गम्भीर घाइते नभएको बताएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

घटनाका बेला पाब्लोकी श्रीमती भेरोनिका र चारवर्षे छोरा पनि उनीसँगै थिए । उनीहरुलाई केही भएको छैन । मोन्जाका प्रमुख कार्यकारीका अनुसार ६ फिट ४ इन्च उचाइका कारण मारीलाई गम्भीर चोट नलागेको बताएका छन् । आक्रमणकारीले पछाडिपट्टि छुरा प्रहार गर्नुअघि मारीको अनुहारमा मुक्का हानेको थियो । ‘पाब्लो मारीको पिठ्युँमा गहिरो चोट छ तर सौभाग्यवस त्यसले फोक्सो लगायत अन्य महत्त्वपूर्ण अंगमा छोएको छैन,’ स्काइले एड्रिआनो गाल्लिआनीलाई उद्धृत गर्दै भनेको छ ।

मारी अहिले निगुआर्दा अस्पतालमा छन् । उनी आगामी साता नै प्रशिक्षणमा फर्किने अपेक्षा गरिएको छ । यद्यपि छुरा प्रहारबाट पिठ्युँको मांशपेशीमा भएको क्षति घटाउन सर्जरी हुने सक्ने ठानिएको छ ।

आक्रमणकारीले २८ देखि ८१ वर्षसम्मका मानिसलाई आक्रमण गरेको थियो । ब्राजिलियन क्लब फ्लामेंगोका खेलाडीले मारीले सन् २०२० मा आर्सनलसँग स्थायी सम्झौता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय