काठमाडौं– सरकारले कोभिड–१९ भए, नभएको पत्ता लगाउने पिसिआर परीक्षण शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पिसिआर परीक्षण गराउँदा एक हजार रुपैयाँ मात्र शुल्क लिने जानकारी दिए ।

यसअघि पिसिआर परीक्षण शुल्क दुई हजार थियो । यस्तै, अबदेखि कोभिड–१९ को उपचार सरकारी अस्पतालमा मात्र गर्ने भएको छ । यसअघि निजी अस्पताल र मेडिकल कलेजमा पनि कोभिड–१९ को उपचार गराइरहेको सरकारले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसहित सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा बुधबार बसेको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’को बैठकले अब सरकारी अस्पतालमा मात्र उपचार गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले यसअघि कोभिड–१९ को उपचारका लागि तोकिएका मेडिकल कलेजमा आजसम्म भर्ना भई उपचार रहेका कोभिड–१९ का संक्रमितको१० दिनको मात्र शोधभर्ना उपलब्ध गराउने भएको उनले बताए । हालसम्म नेपालमा दुई लाख ७२ हजार ३४९ कोरोना संक्रमित भएका छन् । यस्तै दुई लाख ६८ हजार ५४९ निको र दुई हजार ४७ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय