काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा बुधबार वीरगन्जमा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०७७–७८ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७८९५ दरले हुन आउने १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । आव २०७८–७९ को लागि एसएआर एसोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालक श्रीमती पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।

अध्यक्ष संघईले आर्थिक वर्ष २०७७–७८ को वार्षिक वित्तीय विवरण तथा सञचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीबीच अझै नयाँ उचाइमा अगाडि बढाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सेयरधनीको सल्लाह सुझावका लागि धन्यवाद दिए । उनले आफू कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो एवं भरपर्दो लगानीका क्षेत्रमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए ।

सभामा, शेयरधनीबाट गत २१औं वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भैसकेकोले सञ्चालक समिति गठनमा पनि सोही बमोजिमको अनुपात कायम गर्नका लागि अनुरोध भएकोमा छलफल हुँदा कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा ३ (क) बमोजिम पहिले नै सूचित नगरिएको विषयमा साधारण सभामा तत्काल विशेष प्रस्ताव राख्नका लागि चाहिने आवश्यक गणपुरक संख्या नपुगेकोले यस वार्षिक साधारण सभामा उक्त विषयलाई विशेष प्रस्तावका रुपमा स्वीकार गर्न नसकिएको परिस्थितिलाई आत्मसात गरी आगामी वार्षिक साधारण सभामा सो विषयलाई अगाडि बढाइने कुरा जानकारी गराइयो ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १४९.७६ अर्ब गरिसकेको र जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड सञ्चित भइसकेको जानकारी गराएको छ । साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर