काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्ब रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जानकारी दिएको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल लाइफले मृत्यु दाबी भुक्तानी गर्नको लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको बताएको छ । यसै क्रममा कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध रहेको उनको भनाइ छ । गत आर्थिक वर्ष २०७८–७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बनेको हो । सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताएको छ ।

२०७९ असोज मसान्तसम्ममा नेपाल लाइफको लगानी १४९.७६ अर्ब रुपैयाँ, जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्र्ब ३ करोडभन्दा बढी रहेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता छन् । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका करिब १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथै कम्पनीले हालसम्म १९७.१८ अर्र्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको बताएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधा उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय