पोखरा– पोखराका पर्यटन व्यवसायीले सुदूरपश्चिमको पर्यटन विकासमा हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तरप्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायी टोलीसँगको अन्तरक्रियामा पोखराका व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।

कार्यक्रममा सुदूरपश्चिभ प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रका लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताए । उनले कोभिड–१९ ले सुस्ताएको पर्यटन एक प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर चलायमान गराउन सकिने बताए ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिडपछिको अवस्थालाई गति दिन आन्तरिक पर्यटकलाई लक्ष्य गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने सुझाए । उनले सुदूरपश्चिम सांस्कृतिक, प्राकृृतिक, राजनीतिक रुपले अगाडि भए पनि आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गर्दै प्रचारप्रसारमा जोड दिएर पर्यटकीय गतिविधि बढाउनुपर्ने बताए । आर्कषक गन्तव्य प्याकेज ल्याउन सके आगामी दिन सुदूरपश्चिम आन्तरिक पर्यटकको हुन सक्ने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने आवश्यकता औंल्याए । उनले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नविनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राखे । सरकारका नीति पर्यटनमैत्री बनाएर पर्यटकका लागि सहज वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोभिड–१९ का कारण प्राकृतिक र शान्त स्थलको खोजीमा धेरै पर्यटक रहेको उल्लेख गर्दै सुदूरपश्चिम, गण्डकी प्रदेशमा त्यस्ता ठाउँ भएकाले प्याकेज बनाएर ल्याउन सके आगामी दिनमा पर्यटन क्षेत्र अघि बढ्ने बताए । नेपाल पर्यटन बार्ड गण्डकी प्रदेशका प्रबन्धक विमल कँडेलले कोभिड–१९ को चुनौतीलाई अवसरमा बदलेर लुकेर रहेका गन्तव्यको खोजीसहित यसको प्रवर्द्धनमा जोड दिन सके दीर्घकालीन रुपमा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले हवाई ‘कनेक्टिभिटी’लाई जोड दिन सके सुदूरपश्चिम र गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा योगदान हुने बताए । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमलाई प्रकृतिले सबै कुरा दिए पनि आर्थिक रुपान्तरणमा बदल्न नसकिएको बताए । सो अवसरमा उनले गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई सुन्दर सुदूरपश्चिम जान आग्रह गरे ।

नाट्टा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले ‘देव भूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाऊँ’ भन्ने नारासहित लुम्बिनी, गण्डकी कर्णाली प्रदेशलगायतका पर्यटन व्यवसायीसँग अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सात दिने समन्वयात्मक भ्रमण बर्दिया पुगेर समापन हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय