विराटनगर– उद्योग संगठन मोरङले विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गर्ने भएको छ ।

प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्रांगण पुरानो हवाई फिल्डमा मंसिर २९ देखि आगामी पुस ६ गतेसम्म हुने संगठनले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संगठनले सबैभन्दा पहिलो एक्स्पोको आयोजना ‘कोसी महोत्सव’–का नामबाट २०५३ सालमा गरेको थियो । यसपालि हुन लागेको एक्स्पोको सातौं संस्करण हो ।

संगठनका अनुसार विराट एक्स्पो औद्योगिक मेला हो । यसले उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान गराउने आयोजकको भनाइ छ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउने तथा कृषि–उत्पादनको व्यवसायीकरण गर्न अहम् भूमिका रहने उसको भनाइ छ । यसबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार हुने र आन्तरिक पर्यटनको प्रवर्द्धन हुने विश्वास संस्थाले लिएको छ ।

‘एक्स्पोबाट स्टार्टअपहरूको व्यावसायिक विकासमा सहयोग पुग्नेछ । यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठुलो योगदान पुग्नेछ,’ संगठनको विज्ञप्तिमा भनिएको छ ।

सातौं संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्न गरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै यसपटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको संगठनको भनाइ छ । यस अन्तर्गत आर्थिक एवं औद्योगिक क्षेत्रका विषयगत मुद्दामा नीतिगत छलफल गरेर अनुभव आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारको आयोजना गरिने बताइएको छ ।

एक्स्पोमा प्रदेश नम्बर १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरिएको छ ।

विराट एक्स्पो–२०७९ को आन्तरिक तयारीका सबै काम सकिएको संस्थाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर