काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई उनकै कार्यकक्ष सिंहदरबारमा भेट गरी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ ।

अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुुआयामिक असर परेको र बहुप्रतीक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको छ । ‘महासंघ यतिखेर अर्थतन्त्र जोगाऔं अभियानमा छ,’ विज्ञप्तिमा भनिएको छ ।

अर्थमन्त्रीसँगको भेटवार्ताको क्रममा महासंघ अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजीक्षेत्र संकुचित हुँदै गएको बताए ।

प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारलाई नियन्त्रण गर्न सुरु भएको करिब एक वर्षको अवधिमा बहुआयामिक जोखिम बढेको भन्दै सरकार एवं केन्द्रीय बैंकले अर्थतन्त्र जोगाउन चाल्नुपर्ने कदमसम्बन्धी सुझाव समेत महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई बुझाएको छ ।

निजी क्षेत्रको लगानी संकुचित भई राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागू भएको चालु पुँजी कर्जा मार्गदर्शनले व्यवसायमा जटिलता थपेको महासंघको भनाइ छ । ब्याजदरको उतारचढाव, राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक असहजता, अन्तराष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिस्टिक्स र फ्रेट शुल्कमा समेत वृद्धि भएबाट व्यवसायमा अप्ठेरो अवस्था आएको महासंघको भनाइ छ ।

‘यसले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालु पुँजीको वास्तविक आवश्यक सीमा निर्धारणबीच तादाम्यता नमिल्ने र चालु पुँजीको अभावमा उद्योग सञ्चालन मै कठिनाइ उत्पन्न भएको छ,’ महासंघले भनेको छ, ‘दक्षिण एसियामै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय बढी भएर चौतर्फी समस्या भोगिरहेको अवस्थामा मार्गदर्शन तत्काल कार्यान्वयन गर्न सकिँदैन । उद्योगहरूलाई यसले थप प्रभावित पारेको छ । यसकारण चालु पुँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्नेछ ।’

दुई वर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्थाको सुधारको पहल पनि जारी राख्नुपर्छ । ती सुधार गर्नुपर्ने विषय महासंघले केन्द्रीय बैंकमा पनि बुझाइसकेको छ । अहिले अर्थतन्त्रले नियामक निकायबाट दण्डात्मक नभई प्रवर्द्धनात्मक सुधार माग गरिरहेको हुँदा यस विषयमा केन्द्रीय बैंक सकारात्मक हुने महासंघको विश्वास छ ।

सो अवसरमा अर्थमन्त्री शर्माले महासंघले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई आफूले निकै सकारात्मक रुपमा लिएको बताए । अर्थमन्त्रीले सरकार पनि यसमा गम्भीर रहेकाले महासंघले दिएको सुुझावअनुसार नै सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र सहकार्य गरी अगाडि बढ्न मन्त्रालयको सहयोग रहने विश्वास दिलाएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर