काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जाका केही कठोर प्रावधान संशोधन गर्दै लचिलो बनाएको छ । उसले सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।

बैंक तथा वित्तीय संस्था र उद्योगी व्यवसायीले दिएको सुझावअनुसार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । विगतमा प्रवाह भएको चालु पुँजी कर्जा चुक्ता गर्न समय दिने र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्ने गरी मार्गदर्शन संशोधन गरिएको उनको भनाइ थियो ।

अब सीमाभन्दा बढी कर्जा लिइसकेका उद्योगी व्यवसायीले २०८० असार मसान्तदेखि २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिएको छ ।

कुनै ऋणीले २०८२ असार मसान्तभन्दा अगाडि नै कर्जा चुक्ता गर्न चाहे प्रिपेमेन्ट चार्ज वा अन्य कुनै शुल्क लिन नपाइने व्यवस्था पनि संशोधनमा गरिएको छ । अहिले ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा मार्गदर्शन लागू हुने भएकोमा अब १ करोड रुपैयाँभन्दा बढी चालु पुँजी प्रकृतिको कर्जा लिँदामात्र मार्गदर्शन लागू हुने भएको छ ।

यस्तै, विगतमा स्थायी प्रकृतिको चालु पुँजी कर्जा ५ वर्षसम्म दिन पाइने व्यवस्था भएकोमा आगामी दिनमा स्थायी प्रकृतिको चालु पुँजीसम्बन्धी कर्जा ३ देखि १० वर्षसम्मका लागि दिन पाइने व्यवस्था गरिएको छ ।

पाँच वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर कर्जा दिनुपर्ने व्यवस्था संशोधन गर्दै ३ वर्षको अनुमानित वित्तीय विवरण अध्ययन गरेर कर्जा दिन मिल्ने बनाइएको छ । सञ्चालन आय नभएको र भर्खरै स्थापना भएको संस्थालाई अनुमानित सञ्चालन खर्चको आधारमा चालु पुँजी प्रकृतिको कर्जा दिने व्यवस्था पनि गरिएको छ ।

राष्ट्र बैंकले कात्तिक १ गतेदेखि उक्त मार्गदर्शन कार्यान्वयनमा गरेको थियो । २०७८ पुसमा मार्गदर्शनको मस्यौदा तयार गरेको थियो । त्यसपछि सरोकारवालाहरुसँग राष्ट्र बैंकले प्रतिक्रिया र सुझाव मागेको थियो । राष्ट्र बैंकले भदौ ७ गते उक्त मार्गदर्शन जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर