बुटवल– बुटवल उपमहानगरपालिका वडा नम्बर ३ बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म जोड्ने लुम्बिनी केबलकारको शिलान्यास भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्व गरेको आइएमई समूहको अगुवाइमा निर्माण हुने लुम्बिनी केबलकारको प्रधानमन्त्री केपी शर्मा ओली शनिबार शिलान्यास गरेका हुन् ।

आइएमई समूहकै अगुवाइमा भाटभटेनी समूह लगायत अन्य लगानीकर्ताले काठमाडौंको चन्द्रागिरिमा केबलकार र पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । उक्त केबलकार एक वर्षभित्रै सञ्चालनमा आउने लगानीकर्ताहरुको भनाइ छ ।

शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताए छ । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताए ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताए ।

केबलकार शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबीचमा लुम्बिनी केबलकार ‘रोलमोडल’ बन्न सक्ने र यसले आफ्नो लक्षित प्रतिफल छिट्टै नै प्राप्त गर्ने बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका वासिन्दा निकै खुसी भएको बताए ।

लुम्बिनी केबलकार प्रालिका समेत अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्नस्वरुप यो आयोजना सुरु गरिएको बताए ।

बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने उक्त केबलकार बमघाटबाट माथि वसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय