काठमाडौं– गत मंसिरमा मूल्य वृद्धिदर अघिल्लो महिनाको तुलनामा केही घटेको छ । कात्तिकमा ८.०८ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी दर) मंसिरमा घटेर ७.३८ प्रतिशत कायम भएको हो ।

अघिल्लो वर्ष मंसिरमा उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको महँगी ५.८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ८.५९ प्रतिशतले बढेको छ ।

मंसिरमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

मंसिरमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात समूहको मूल्य सूचकांक १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.२९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.२९ प्रतिशतले बढेको छ । मंसिरमा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ मंसिरमा यी क्षेत्रमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय