ओखलढुंगा– उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । ओखलढुंगाको चिशंखुगढीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक पाँच हजार दिने बताए ।
मन्त्री पोखरेलले वर्तमान सरकारको लक्ष्य सुनाएको र यो सरकारको आयु आगामी आर्थिक वर्षको बजेट ल्याउने जेठ महिनासम्म मात्रै रहेको हुँदा उनको वाचा पूरा भए आगामी आर्थिक वर्षबाटै सर्वसाधारणले वृद्धभत्ता बापत मासिक पाँच हजार पाउने छन् । हाल सरकारले मासिक तीन हजारका दरले बृद्धभत्ता दिइरहेको छ ।
आगामी वैशाख १७ र २७ गतेका लागि वर्तमान सरकारले चुनाव तोकिसकेको छ । वैशाख २७ गते पछिल्लो चरणको चुनाव सम्पन्न भई त्यसको मतगणना सकिएर अर्को सरकार गठन हुन कम्तीमा पनि एक महिना लाग्ने हुँदा आगामी आर्थिक वर्षको बजेट समेत यही सरकारले ल्याउने छ ।
चालु आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्ता बढाएर दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे ।