काठमाडौं– नेपाल राष्ट्र बैंकले आठवटा विकास बैंक र चारवटा वित्त कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएका कानुनी व्यवस्था, मौद्रिक नीति तथा निर्देशनका व्यवस्था उल्लंघन गरेको भेटिएपछि एक दर्जन संस्थालाई आर्थिक जरिवाना गरिएको हो ।

राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासिक अवधिमा भएको सुपरिवेक्षणका आधारमा कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेका विकास बैंक र वित्त कम्पनीलाई हर्जाना तिराइएको छ । राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई विपन्न वर्ग कर्जा नपुर्याउँदा एकपटक र अनिवार्य मौज्दात कायम गर्न नसक्दा दुईपटकसम्म हर्जाना तोकिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा नपु¥याउँदा रु एक लाख ५२ हजार ९ सय २९ बराबर हर्जाना तोकिएको छ भने अनिवार्य मौज्दात कायम गर्न नसक्दा पहिलोपटक ७ सय ६ र दोस्रोपटक रु ३२ हजार ९ सय ६९ बराबर जरिवाना गरिएको छ । त्यस्तै, सालपा विकास बैंकले पनि अनिवार्य मौज्दात कायम गर्न नसक्दा जरिवाना तिर्नुपरेको छ ।

राष्ट्र बैंकका अनुसार तोकिएको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंकलाई हर्जाना तिराइएको हो । यी चार विकास बैंकले गत साउन र भदौ महिनामा तोकिएको सीडी रेसियो कायम नगरेका कारण दुई महिनाको हर्जाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकलाई साउनमा २० लाख १३ हजार र भदौमा २३ लाख १४ हजार ४ सय ९३ जरिवाना तिराइएको छ । त्यस्तै सिन्धु विकास बैंकलाई साउनमा १ लाख २६ हजार ३ सय ८४ र भदौमा १६ लाख ९९ हजार १ सय ५१ बराबर हर्जाना कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई साउनमा ४ लाख ६३ हजार ७ सय ९४ र भदौमा ५ लाख १६ हजार ३ सय ७ बराबर जरिवाना तोकिएको छ भने सप्तकोसी डेभलपमेन्ट बैंकलाई साउनमा २१ लाख ८० हजार ६ सय ६३ र भदौमा २८ लाख ९७ हजार ३ सय ५४ बराबर जरिवाना तोकिएको छ ।

त्यसैगरी, वित्त कम्पनीतर्फ नेपाल फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पनि सीडी रेसियो कायम गर्न नसक्दा हर्जाना तिर्नुपर्ने भएको छ । नेपाल फाइनान्सलाई पहिलोपटक १९ हजार ३ सय ३० र दोस्रोपटक १ लाख ६५ हजार ५ सय ८४ बराबर हर्जाना कायम गरिएको छ ।

त्यस्तै, जानकी फाइनान्स कम्पनीलाई पहिलोपटक ६ लाख ५५ हजार १ सय ९३ र दोस्रोपटक ६ लाख ३९ हजार ७ सय ९९ तिराइको छ । समृद्धि फाइनान्स कम्पनीले पनि कर्जा निक्षेप अनुपात पु¥याउन नसक्दा ८० हजार ४ सय ७४ बराबर हर्जाना तिर्नुपरेको छ । अनिवार्य मौज्दात कायम नगर्ने प्रोग्रेसिभ फाइनान्स लिमिटेडलाई २३ हजार १ सय ८८ हर्जाना तिराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय