
काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरी गरेको आरोपमा धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुइटा मोटरसाइकल चोरेको आरोपमा चारजनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए । महाशाखाले माघमा मात्र मोटरसाइकल चोरी गर्ने ११ जनालाई पक्राउ गरी मुद्दा चलाइसकेको छ ।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालु आर्थिक वर्षमा महाशाखाले उपत्यकामा हराएका १९६ मोटरसाइकल खोजतलास गरेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । महाशाखाले चालु आवमा उपत्यकामा मोटरसाइकल चोरी गर्ने ३९ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाइसकेको छ ।