काठमाडौं– चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत पुस मसान्तसम्मको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्यांकअनुसार उक्त अवधिको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो । गत वर्षको साउनदेखि पुससम्ममा नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ थियो । व्यापार घाटामा गत आर्थिक वर्षको तुलनामा १९.१५ प्रतिशतले कम आएको हो ।

गत ६ महिनामा देशको कुल व्यापार ८ खर्ब ७३ अर्ब ४७ करोड पुगेको विभागले जनाएको छ । यस्तै सो अवधिमा कुल ७ खर्ब ९२ अर्ब ६६ करोडको आयात हुँदा ८० अर्ब ८० करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ ।

आर्थिक वर्ष २०७८–७९ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक व्यापार २१.८९ प्रतिशतले घटेको छ । गत आवमा कुल ११ खर्ब १८ अर्ब १९ करोड बराबरको व्यापार भएको थियो ।

गत आर्थिक वर्ष ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनामा २० प्रतिशतले कमी आई ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

यस्तै गत आवको ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड बराबरको वस्तु निर्यात भएकोमा चालु आवको ६ महिनामा निर्यात ३२ प्रतिशतले ओरालो लागेर ८० अर्ब ८० करोडमा सीमित भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय