
रापपुर (पाल्पा)– तानसेन–रिडी–तम्घास सडक खण्ड एक महिना बन्द हुने भएको छ । सो खण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि बन्द गर्न लागिएको हो ।
माघ १० गतेदेखि फागुन ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।
यसअघि पनि सोही सडक खण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदै आएको थियो । उक्त सडकखण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् ।
यस सडक खण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हँुदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।