काठमाडौं– एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ लाख ९७ हजार २०० कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३४ करोडको २४.७१ प्रतिशतले हुने ८ करोड ४० लाख मूल्य बराबरको ८ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्ट्याएको थियो । जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

त्यस्तै १६ हजार ८०० कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार २०० कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्बा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर आइपिओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा ६.२ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय