काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने संकेत गरेका हुन् । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरु संवादमा नै रहेको बताए ।

‘हामी सल्लाह गर्दैछौं । सकेसम्म सत्ता साझेदार दल इन्गेज भइराख्ने गरी अघि बढ्छौ,’ दाहालले भने । लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदबाट लामिछाने हटेका थिए । आइतबार पुनः लामिछानेले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका छन् । नागरिकता लिएपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले आग्रह गर्दै आएका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)को आज बसेको पदाधिकारी बैठकमा सांगठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको उल्लेख गर्दै प्रवक्ता महराले पार्टीको स्थायी समितिको बैठक बुधबार पुनः बस्ने बताए ।

प्रवक्ता महराले अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको जानकारी दिए । राष्ट्रपतिको निर्वाचनसम्बन्धी जिज्ञासामा प्रवक्ता महराले भने, ‘राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन होओस् भन्नेमा पार्टीभित्र अधिकांशको समान धारणा छ ।’ उनले राष्ट्रपतिको निर्वाचन हुन अझै समय बाँकी भएकाले सहमति जुट्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय