काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम–तारा प्रधान इनर्जी ल्याब भवनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्रीले गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताए ।

‘चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौं, पूँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यही समयको भन्दा निकै कम हो,’ मन्त्री पौडेलले भने ।

यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भने, ‘ब्याजदर, महँगी, विदेशी मुद्रास्फीति, व्यापार सन्तुलनको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौं ।’

सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बनाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा छ ।

मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे । ‘गुणस्तरीय शिक्षाको खोजी नेपाली युवा संसारका विभिन्न मुलुक जान बाध्य छन्, जसबाट ठूलो रकम विदेशिएको छ,’ उनले भने, ‘यसले पैसा र युवा जनशक्ति दुवै पलायन भइरहेको छ ।’

उनले समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायत्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए ।

उनले सो अवसरमा हाइड्रो इन्जिनियर स्व बलराम प्रधानले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानको अनुशरण गर्न आग्रह गरे । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, रजिस्ट्रार डा अच्यूत वाग्ले, स्कुल अफ साइन्सका डीन मनिष पोखरेललगायतले विश्वविद्यालयमा कार्यरत प्राध्यापक स्व प्रधानले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।

नेपालका पहिलो संगठित ल्याबका रुपमा विश्वविद्यालयमा स्थापित उक्त दुईतले ग्रिन हाइड्रोजन ल्याब भवन २ करोड ६८ लाख लागतमा निर्माण भएको हो । कूल लागतमध्ये ४५ लाख स्व प्रधानको परिवारले सहयोग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय