काठमाडौं– नेपाल राष्ट्र बैंक विद्युतीय कारोबारमा लाग्दै आएको शुल्क घटाएको छ । केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारलाई थप विस्तार गर्न यसलाई कम खर्चिलो बनाएको हो ।

केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार स्वदेशमा अन्तरबैंक एटिएम कार्ड प्रयोग गर्दा लाग्ने शुल्क २० रुपैयाँ शुल्क घटाइ १५ रुपैयाँमा झारेको छ ।

तर, बैंक वित्तीय संस्थाले मोबाइल एप, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङ, इलेक्ट्रेनिक वालेटको युजर नाम र पासवर्ड हराएमा/बिर्सिएमा कुनै शुल्क नलाग्ने गरी सम्बन्धित व्यक्तिले आफैं पुनः प्राप्त गरी सेवा पुनः सुचारु गर्नसक्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी सेवा प्रदायकले डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टबाट पोइन्ट वा सेल पोइन्ट वा पिओटी मेसिनमार्फत गरिएको कारोबारमा ग्राहकसँग कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत गरिने राजस्व भुक्तानीसम्बन्धी कारोबारमा पनि शुल्क घटाएको छ ।

निर्देशन अनुसार ५ हजारसम्म ५ रुपौयाँ, ५,००१ देखि १० हजारसम्म ८ र १०,००१ देखि माथि १० रुपैयाँ सेवा शुल्क कायम गरेको छ । यसअघि यस्तो कारोबारमा ३ हजारसम्म ५ रुपैयाँ, ३,००१ देखि १० हजारसम्म १० रुपैयाँ र १०,००१ देखि माथि २० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था थियो ।

बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल एप्लिकेसन वा इन्टरनेट बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकले प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था गरेको छ ।

यसअघि बैंक वित्तीय संस्थाले मोबाइल बैंकिङमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर गर्दा ५० हजारसम्म १० रुपैयाँ, ५० हजारदेखि एक लाखसम्म २० रुपैयाँ एक लाखभन्दा माथि ३० रुपैयाँ कारोबार शुल्क लिँदै आएका थिए ।

केन्द्रीय बैंकको नयाँ एकीकृत निर्देशिका अनुसार विद्युतीय वालेटमार्फत हुने कारोबारमा एजेन्टमार्फत वालेटमा रकम लोड गर्न र झिक्न ५ हजारसम्म ५ रुपैयाँ, ५,००१ देखि १५ हजार सम्म १५ रुपैयाँ, १५,००१ देखि २५ हजारसम्म २५ रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ । त्यसैगरी वालेटबाट बैंकमा रकमान्तर गर्न १० रुपैयाँ कारोबार शुल्क लाग्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय