काठमाडौं– निरन्तर उकालो लागिरहेको सुनको मूल्यले हालसम्मका सबै कीर्तिमान तोडेको छ । बिहीबारका लागि छापावाल सुनको कारोबार प्रतितोला १ लाख ७ हजार ५०० तोकिएपछि विगतका सबै मूल्य कीर्तिमान तोडिएका हुन् ।

अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार ३०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला १ हजार २०० ले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालसम्मकै उच्च भएको हो । यसअघि यही माघ १२ गते सुनको कारोबार प्रतितोला १ लाख ६ हजार ६९९ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार छ । अघिल्लो दिन उक्त सुन १ लाख ५ हजार ८०० पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा रु १५ ले बढेर प्रतितोला १ हजार ३९५ पुगेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । महासंघे अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यका आधारमा यहाँको कारोबार मूल्य तोक्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय