काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्रांगणमा विशेष समारोह आयोजना गरेको छ ।

कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । टेलिकमले मोबाइल टेलिफोन सेवा, जिएसएम, जिपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकमको वार्षिकोत्सवका अवसरमा दिएको शुभकामना सन्देशमा ग्रामीण एवं दुर्गम क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्न आग्रह गरेकी छिन् ।

उनले नविन प्रविधि अवलम्बन गरी सुलभ दरमा सुविधा प्रवाह गर्न इन्टरनेट सेवाको पहुँच स्थापित गरी सूचना प्रविधिको उपयोगमार्फत सीपमूलक र ज्ञानमा आधारित शिक्षाको विकास एवं गरिबी न्यूनीकरण गर्ने सरकारको नीतिलाई सफल पार्ने अभियानमा कम्पनी रहेको सन्देशमा उल्लेख गरेकी छिन् ।

सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले स्थापनाकालदेखि नै ग्राहकवर्गलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको कम्पनीले आगामी दिनमा अझ बढी स्तरीय, भरपर्दो र सुलभ सेवा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाएका छन् ।

विसं २०३२ असार १ गतेदेखि नेपाल दूरसञ्चार संस्थानको रूपमा सञ्चालित संस्था २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण भयो ।

कम्पनीको आर्थिक वर्ष २०७८–८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड रुपैयाँ छ, जसमा खुद नाफा ८ अर्ब ४७ करोड रुपैयाँ छ । कम्पनीको ग्राहक सेवा भ्वाइस सेवातर्फ २०७९ मंसिरसम्मको विवरणमा २ करोड १३ लाख २५ हजारभन्दा बढी छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक २ करोड १ लाख ६८ हजार, एडिएसएल सेवाका ४ लाख ३७ हजार र पिएसटीएन सेवाका ४ लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटिटिएच भ्वाइस सेवाका ग्राहक २ लाख ४७ हजार १ सय १४ छन् भने एफटिटिएच डाटाका ग्राहक २ लाख ११ हजार ५ सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका ७ सय ३९ स्थानीय तहमा फोरजी एफटिई सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

टेलिकमले देशभरमा पिएसटिएन, सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडिएम र सिडिएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।

बैंक तथा विभिन्न निकायलाई तथ्यांक आदान–प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् । विसं १९७० मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय