काठमाडौं– मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता सय अंकित दरमा २२ लाख ६४ हजार ६५५ कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार ५०० कित्ता सेयरमध्ये २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ । ५४ हजार ५७० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी २२ लाख ६४ हजार ६५५ कित्ता सेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ । निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम ८ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ ।

निष्कासित सेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सिआस्बा’ प्रणालीमार्फत तथा अनलाइनमा ‘मेरो सेयर’ प्रयोग खदिरको आवेदन दिन सकिने छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बिबी’ प्रमाणपत्र प्रदान गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले ओखलढुंगाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय