काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा आइतबार (२०७९ माघ २७ गते) नेपाल बिमा प्राधिकरणको कार्यालयमा हस्ताक्षर भएको छ ।

प्राधिकरणका अध्यक्ष, दुवै कम्पनीका सञ्चालक समिति अध्यक्षलगायत सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको आइएमई जनरल इन्स्योरेन्सले जानकारी दिएको छ ।

सम्झौतापत्रमा आइएमई जनरलका सञ्चालक तथा मर्जर समिति संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियलका सञ्चालक तथा मर्जर समिति संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका थिए ।

नेपाल बिमा प्राधिकारणबाट जारी भएका निर्देशन तथा नीति, नियमको पालना गर्दै बिमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी सबल र सक्षम बिमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बिमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै आफ्ना सेयरधनीलाई समायानुकूल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने/गाभिने सहमति सहित प्रारम्भिक सम्झौता गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने बताइएको छ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्टसमेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय