काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०७९–८० को बजेटको मध्यावधि समीक्षा गर्दै यसको आकार घटाएको छ । सरकारले बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरले घटाएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै बजेटको आकार घटेको जानकारी दिएका छन् ।

चालु आवमा कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ कायम गरिएको छ । बजेटको आधार १४ प्रतिशतले घटाइएको हो ।

चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड बराबर सुरुवाती विनियोजन थियो । त्यसलाई घटाएर १० खर्ब २१ अर्ब ९२ करोडमा झारिएको छ, जुन सुरुवाती विनियोजनको ८६.३७ प्रतिशत बराबर हो ।

त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर ३ खर्ब १३ अर्ब ८५ करोडमा झारिएको छ । जुन सुरुवाती विनियोजनको ८२ दशमलव ५१ प्रतिशत बराबर हो ।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड बराबर सुरुवाती विनियोजन रहेकोमा त्यसलाई घटाएर २ खर्ब १४ अर्ब २१ करोडमा झारिएको छ । जुन सुरु विनियोजनको ९३.०५ प्रतिशत बराबर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय