काठमाडौं– राजधानीस्थित ट्रिटन इन्टरनेसनल कलेजले नेपालको संघीय संसदीय अभ्यासबारे विद्यार्थीलाई जानकार दिन नमूना संसद कार्यक्रम गरेको छ । नमूना संसद्को दोस्रो संस्करण नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा सम्पन्न गरेको कलेजले जानकारी दिएको छ ।

कलेज तहका विद्यार्थीलाई व्यवस्थापिका र कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरी व्यवहारिक अनुभव गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । कार्यक्रम माघ २८ र २९ गते शुभश्री कलेज अफ म्यानेजमेन्टको सभा हलमा सम्पन्न भएको हो । नमूना संसद्मा काठमाडौं उपत्यकासहित देशका ३५ वटा कलेजमा कानून संकायमा अध्ययरत १६५ विद्यार्थी सहभागी रहेको विज्ञप्तिमा उल्लेख छ ।

नमूना संसद् कार्यक्रमअन्तर्गत माघ २८ गते बिहान १० बजेबाट बेलुका ५ बजेसम्म प्रशिक्षक विनोद खत्रीले १६५ सहभागीलाई प्रशिक्षण दिएका थिए । माघ २९ गते भएको नमूना संसद्मा छानिएका ८८ विद्यार्थी मात्रै सहभागी भएको कलेजकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) ऋतु न्यौपानेले जानकारी दिइन् ।

नमूना संसद् कार्यक्रममा सहभागीलाई सत्तापक्ष र प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरी संसद् अधिवेशन आह्वान गर्नुका साथै शून्य समय, विशेष समय तथा नेपाल नागरिकता (संशोधन) विधेयक २०७९ पेस गरी त्यसउपरको सैद्धान्तिक छलफल, दफावार छलफल, संशोधन पेश हुँदै पारित समेत गरिएको थियो ।

कार्यक्रम समापन समारोहमा पूर्वउपसभामुख एवं कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथि थिइन् । मन्तव्यको क्रममा उनले यस्ता कार्यक्रम अत्यन्तै समय सान्दर्भिक भएको भन्दै नेपालको संसद्मा भएका कमी कमजोरीलाई सुधार गरी अझै परिष्कृत रुपमा युवाले यस्ता कार्यक्रम विद्यालयस्तरीय, नगरस्तरीय, प्रदेशस्तरीय हुँदै देशव्यापी रुपमा आयोजना हुनुपर्ने बताइन् । यस्ता कार्यक्रमले योग्य जनप्रतिनिधि जन्माउने उनको भनाइ छ । विशिष्ट अतिथिको रुपमा सहभागी भोजपुर जिल्ला साल्पा सिलिछो गाउँपालिका अध्यक्ष दौलथ राइले राज्य संरचना तथा राज्य सञ्चालनबारे जानकारी गराउने यस्ता कार्यक्रम अझै व्यापक रुपमा प्रत्येक स्थानीय तहमा आयोजना हुनुपर्ने र यस्ता कार्यक्रमले उत्कृष्ट सचेत नेतृत्व उत्पादन गर्ने राय व्यक्त गरे ।

नयाँ युवा नयाँ सोच, नेपालका केन्द्रीय अध्यक्ष मुकुन्ददिप मडैले प्रतियोगितामा ३ वटा विधामा पुरस्कार राखिएकोमा उत्कृष्ट बहसकर्ताको उपाधि एलिशा शाही (एड मार्क एकेडेमी)ले, सान्त्वना पुरस्कार समीर लामिछाने (कुमारवर्ती बहुमुखी क्याम्पस)ले, उत्कृष्ट अनुसन्धानकर्ताको उपाधि स्मृति शर्मा (ट्रिटन कलेज)ले, सान्त्वना पुरस्कार निशा घिमिरे (ह्वाइटहाउस कलेज)ले पाएको जानकारी दिए ।

उत्कृष्ट नेतृत्वकर्ताको उपाधि दृश्या काफ्ले (केएमसी, बागबजार)ले र सान्त्वना पुरस्कार रामकृष्ण अधिकारी (के एम सी बालकुमारी) ले हात पारेका छन् । ट्रिटन कलेजका कानून तथा व्यवस्थापन संकाय संयोजक कमानसिङ आरसीका अनुसार यस कार्यक्रमको तेस्रो संस्करण अझै धेरै कलेजहरुको सहभागितामा व्यापक रुपमा आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय