काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख रुपैयाँ मूल्यको बियर बरामद गरेको छ । मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब २ हजार ७ सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।

बजार अनुगमनका क्रममा बाह्रसिगें, टुबोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्रान्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनका अनुसार मंगलबार काठमाडौंको धुम्बाराहीस्थित याक ब्रुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीनवटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।

यस्तै, बुधबार सिनामंगलमा रहेको संस्कार टे«डर्स प्रालिले गौह्रीगाउँस्थित गोदाममा भण्डारण गरेको ३ सय ५५ कार्टुन बियर बरामद गरेको थियोे । उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सबर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्रान्डका बियर रहेको विभागले जनाएको छ ।

यस्तैगरी, बुधबार नै विभागले सिनामंगलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्रान्डका ३०२ कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले भोज भतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुन सक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।

‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुन सक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तैगरी, विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्री नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय