
काठमाडौं– नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई कस्ने नीति ल्याएको भोलिपल्ट धितोपत्रको दोस्रो बजारमा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा पहिरो गएको छ । दिउँसो एक बजेसम्म कारोबार भएका सबै लघुवित्तको सेयर मूल्य घटेको छ । २९ वटा लघुवित्तको सेयर मूल्य सर्किट लेभलमै घटिसकेको छ ।
उक्त अवधिसम्ममा नेप्से परिसूचक ५० बिन्दु हाराहारीमा घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार दिउँसो १ बजेसम्ममा ११ वटा कम्पनीको मूल्य १० प्रतिशतले घटेको छ भने १४ वटा लघुवित्तको ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
१० प्रतिशतले मूल्य घट्ने लघुवित्तमा समिट, नेसनल, आँधीखोला, महिला, जीवन विकास, मानुषी, राष्ट्र उत्थान, जालपा, नेस्डो समृद्धि, धौलागिरी र आदर्श लघुवित्त वित्तीय संस्था छन् ।
९ प्रतिशतभन्दा बढीले मूल्य ओरालो लाग्ने लघुवित्तमा जनउत्थान, सिर्जनशील, मेरो, फरवार्ड कम्युनिटी, स्वरोजगार, सामुदायिक, इन्फिनिटी, छिमेक, उन्नति सहकार्य, किसान, माहुली, साधना, स्वावलम्बन र उपकार लघुवित्त कम्पनी छन् । अरु लघुवित्तको पनि मूल्य ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार लघुवित्त कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्दा ९५ प्रतिशतसम्म रकम कोषको लागि छुट्ट्याउनुपर्ने, क, ख र ग वर्गका बैंक वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले लघुवित्तबाट लिन नपाउने, लघुवित्तले कर्जामा लिने अधिकतम ब्याजको आधा निक्षेपमा ब्याज दिनुपर्ने, एउटै व्यक्तिले एकभन्दा बढी लघुवित्तबाट कर्जा नपाउने, धितोमा दिइने कर्जा आधा घटाउने लगायत प्रावधान लागू गरेको थियो । बिहीबार लघुवित्त कम्पनीको सेयर मूल्यमा आएको गिरावटलाई राष्ट्र बैंकको सोही कदमसँग जोडेर हेरिएको छ ।
बिहीबारको कारोबारमा अन्य सूचीकृत कम्पनीको पनि सेयर मूल्य ओरालो लागेको छ । यो सामग्री तयार गरिरहँदा कारोबार भएकामध्ये २०९ कम्पनीको मूल्य घटेको, ९ कम्पनीको बढेको र ३ कम्पनीको यथावत रहेको देखिन्छ ।