काठमाडौं– हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गरेका हुन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन् । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

बैंकका अध्यक्ष श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट बैंक बन्ने बताए । ६ करोडबाट सुरु भएको बैंक हाल ३४ अर्ब पुँजीको बैंक बनेको उनको भनाइ थियो । आफ्नै कसरतमा ठूलो बनेको बैंक अब सिभिल बैंकलाई प्राप्ति गरेपछि उत्कृृष्ट बैंक बन्ने उनले दाबी गरे ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक राणाले नौ महिनाको प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनेको बताए । हिमालयन बैंक आफँंमा ठूलो भएको जनाउँदै उनले राष्ट्र बैंकको नीतिलाई साथ दिनमात्रै सिभिल बैंकलाई प्राप्ति गरिएको बताए ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको चुक्तापुँजी ३४ अर्ब रुपैयाँ पुगेकोे छ । पुँजीका आधारमा हिमालय बैंक छैटाँै ठूलो बैंक हो । यस्तै बैंकको २ खर्ब ७४ अर्ब निक्षेप, २ खर्ब ५० अर्ब कर्जा रहेको बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको शाखा १८९ पुगेको छ ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायी प्रवर्द्धक भएर खुलेको पहिलो निजी क्षेत्रको बैंक हो । हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ, फैसल एन लाल्टिन, सुनिलबहादुर थापा, जीतेन्द्र धिताल, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक छन् । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हिमालयन बैंकका राणा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय