
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गोरखा नगरपालिका–३, जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर जनताको करको पैसा दुरुपयोग गरेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो । सडक निर्माण नै नभएको स्थानमा खेतका बीचमा पुल मात्रै निर्माण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समेत चौतर्फी आलोचना भएको थियो ।
आयोगले गरेको छानबिनका आधारमा सचिव मरहट्टा दोषी देखिएको आरोप लगाउँदै आयोगले सोमबार मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन सचिवविरुद्ध ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ बराबरको बिगो दाबी गरेको छ ।
यस्तै, आयोगले गण्डकी प्रदेशअन्तर्गत प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ काल्पनिक सडक नाम दिई दरौंदी खोलामा पुलको डिजाइन पेस गरेको अभियोगमा ५ लाख ७१ हजार सात सय ८० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाविरुद्ध भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा आठबमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।