काठमाडौं– सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ दरका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्ने भएको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दामा निष्कासन र बाँडफाँट भएको छ ।

त्यस्तै ४ लाख ९९ हजार ८७५ कित्ता विदेशमा रोजगारमा रहेका नेपालीका लागि तथा २ लाख ४९ हजार ९३७ कित्ता सामूहिक लगानी कोषलाई समेत प्राथमिक सेयरको निष्कासन तथा बाँडफाँट भइसकेको छ ।

निष्कासित सेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले ताप्लेजुङको फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय