चितवन– सधैं उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो ।
कोरोना संक्रमणसँगै चल्लाको अभाव हुँदा अण्डा दिने कुखुराको संख्यामा कमी आएको थियो । पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए ।
अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उनको भनाइ छ । सामान्यतया अण्डा दिने कुखुरा एक वर्ष छ महिना पाल्ने गरिन्छ । अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उनको भनाइ छ ।
मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन् । संघले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यम ३०० कायम गरेको छ । यसअघि ठूलो अण्डाको दर ३६० र मध्यम अण्डाको ३४० सम्म पुगेको थियो । केसीले भने, ‘उत्पादन बढी र खपत घटेकै कारण अण्डाको मूल्य घटेको हो ।’
यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ । अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न ११.५३ लागत लाग्ने बताउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए । उनका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै एक रुपैयाँ प्रतिवटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ ।
उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन् । उपभोक्ताले भने १५ रुपैयाँमा अण्डा खरिद गर्न बाध्य छन् । विचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महँगो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताए । उनले भने, ‘संघले समन्वय गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।’
संघका उपाध्यक्षसमेत रहेका किसान किरण ओली बजारमा अण्डाको माग भइरहेको भए पनि व्यवसायीको चलखेलका कारण मूल्य घटेको बताउँछन् । उनले भने, ‘म सस्तोमा अण्डा बिक्री गर्दिनभन्दा मसँग एक हजार ५०० पेटी अण्डा थन्किएको छ ।’
अहिलेको अवस्थामा सस्तोमा अण्डा बिक्री गर्नुपर्ने अवस्था नरहेको भए पनि व्यवसायीको चलखेललाई केही किसानको सहयोगका कारण समस्या आएको उनले आरोप लगाए ।
घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसान निकै घटेको उनको भनाइ छ । दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकामा यो संख्या घटेर एक हजार ७०० मा झरेको उनले जानकारी दिए । ओलीले भने, ‘साना किसान विस्थापित र ठूला स्थापित हुँदैछन् ।’
हाल दैनिक देशभरमा ३२ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । केही महिनाअघिसम्म यो संख्या २६ लाख हाराहारी रहेको ससंघले जनाएको छ । नेपालमा कुखुराजन्य क्षेत्रमा १ खर्ब २५ अर्ब लगानी भएको व्यवसायीहरु बताउँछन् ।