काठमाडौं– मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोडको २५ प्रतिशत (७२ करोड ५० लाख) सेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत (२९ करोडको २९ लाख कित्ता) सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्कासन गरिने भएको छ ।

त्यस्तै सार्वजनिक निष्कासन गरिने सेयरमध्ये ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ ।

स्थानीय बासिन्दाले सेयर खरिदको आवेदन सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआइसी एसिया बैंक तथा कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन बिबी प्लस इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले पर्वतमा २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादनसमेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय