
काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २९ करोड ५ लाख १४ हजार १ सय १० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारणसभाले आव २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयमार्फत २ लाख ६३ हजार ७० महिला ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा २० अर्ब ७० करोड ५० लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १२ अर्ब ६९ करोड ७ लाख रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमुखी सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
उक्त साधारणसभाले यस वित्तीय संस्थाको आव २०७९/८० को लेखापरीक्षण गर्नको लागि सुन्दर एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त एक वा एक भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।