सोल– दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार नाघेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।

यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै करिब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको संख्या सन् १९९८ मा भएको एसियाली वित्तीय संकटपछिको पहिलो हो ।

कोभिड–१९ का कारण सरकारले पारेको कडा सामाजिक दुरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् । त्यसैगरी, होटल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् ।

कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ । हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या आठ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।

त्यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएको तथ्यांक सार्वजनिक भएको छ । कोरियामा यति धेरै रोजगारी गुम्दा नेपाली कामदारका लागि उपलब्ध अवसर पनि गुम्ने अनुमान गरिएको छ ।

कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार ६ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय