काठमाडौं चन्द्रागिरि हिल्स लिमिटेडको ११औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।

यही साधारणसभाको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकको सम्मान गर्दै कम्पनी अध्यक्ष ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना आगामी माघ ५ देखि १ वर्षसम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा उक्त कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय