काठमाडौं– बैंक, वित्तीय संस्थाहरुको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ब्याजदरको विषयलाई अतिरञ्जित बनाएर बैंकिङ क्षेत्रमाथि प्रहार भइरहेको टिप्पणी गरेको छ । पछिल्लो समय बैंक, वित्तीय संस्थाबाट लिएको कर्जाको साँवाब्याज नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक, वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटना भएको र त्यसले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको सिबिफिनले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ब्याजदर संस्थाको चाहनामा नभई राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयका आधारमा निर्धारण हुने भन्दै सिबिफिनले सरकार, आम उद्यम–व्यवसाय र सर्वसाधारण अनपेक्षित रुपमा भोगिरहेका समस्याको उचित समाधानका लागि सबै एकजुट भएर लाग्नुपर्ने बेला ब्याजदरको विषयलाई अतिरञ्जित बनाइएको टिप्पणी गरेको हो ।

यी संस्थाले आम जीवनस्तर सुधार, आर्थिक–सामाजिक क्षेत्रको विकास, दिगो आर्थिक विकासमा योगदान गर्दै लाखौंको संख्यामा रोजगारीका अवसर सिर्जना गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बहन सामाजिक–आर्थिक रुपान्तरणमा अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पनि सिबिफिनको विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिक र बाह्य कारणबाट अर्थतन्त्र प्रभावित बन्दा साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्तामा चिन्ता बढेको भन्दै सिबिफिनले यस्तो विषम परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने सम्भावित उपायबारे नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवाला सम्पूर्ण पक्षसचेत र जिम्मेवार हुँदै आर्थिक सुधारको मार्गमा सामूहिक रुपमा लाग्नुपर्ने आवश्यकता औंल्याएको छ ।

अत्यन्तै पारदर्शी र संवेदनशील क्षेत्रको रुपमा परिचित नेपालको बैंकिङ क्षेत्रले नियामक निकायमार्फत जारी नीति, नियमको प्रभावकारी कार्यान्वयन, नेपाल राष्ट्र बैंकबाट भएका स्थलगत/गैरस्थलगत निरीक्षणका आधारमा दिइएका सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यको कारण अहिले नेपालको आर्थिक क्षेत्रका केही महत्त्वपूर्ण सूचकहरु सकारात्मक दिशातर्फ उन्मुख हुँदै गरेको आँकडा हालै जारी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले प्रस्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।

‘बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उच्छृंखल, अव्यावहारिक, अराजक गतिविधि र निहत्था कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्य सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानून हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेलाई तत्काल कठघरामा उभ्याई आवश्यक कारवाही गर्न पनि संस्थाले माग गरेको छ ।

‘देशको अर्थव्यवस्था नै धराशयी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलाप यसरी नै अगाडि बढ्ने हो भने भोलि राज्य र आम जनताले बेहोर्नुपर्ने क्षति आकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहँदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्था सिर्जना गर्न, गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अपिल गर्दछौं,’ संस्थाका सचिव कुशप्रसाद मल्लीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय