काठमाडौं– नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

संघीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरे । मतदाता मतदान स्थलमा पुगिसकेका छन् । अहिले बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् ।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

२०६२–६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी आठ सय ८२ मतदाता कायम छन् । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय