बाँके– पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले देशभरबाट २०० गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार ठाउँ छानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।

बर्दियाबाट छानिएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको सहिद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठियाघाट वनभोज स्थल छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको एक करोड ५० लाख लगानी रहने छ ।

सहिद स्मृतिपार्क निमार्णका लागि अनुमानित लागत पाँच करोडमध्ये मन्त्रालयले तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको एक करोड ५० लाख लगानी रहनेछ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत सात करोड रहेकामा मन्त्रालयले चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको दुई करोड ४५ लाख लगानी रहने छ ।

राजापुरको कोठियाघाट वनभोजस्थल निर्माणका लागि अनुमानित लागत ६ करोड ८९ लाख छ । यसको निमार्णका लागि मन्त्रालयले चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुर नगरपालिकाको दुई करोड ४८ लाख लगानी रहने छ ।
मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २०० गन्तव्य छनोट भएका छन् ।

सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, संग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय