
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।
‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी खेल प्रदर्शन गर्नुभयो, तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु,’ खेलाडीलाई सम्मान गर्ने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘विश्वकप छनोटका लागि तपईंहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुख, दुःखमा साथमै हुनेछु ।’
प्रधानमन्त्री दाहालले यसअघि पनि सरकारले जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको उल्लेख गरे । प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिएका छन् ।
उनले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’
बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई नौ रनले पराजित गरेको थियो । प्रधानमन्त्री दाहालले क्रिकेट खेलाडीको मेहनतलाई सरकारको तर्फबाट सम्मान गर्ने र आगामी दिनमा थप भौतिक पूर्वाधारको विकास तथा खेलाडीका लागि थप सुविधाको प्रबन्ध गर्ने विश्वाससमेत दिलाएका थिए । प्रधानमन्त्री निवासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र अन्य पदाधिकारीको समेत सहभागिता थियो ।
बिहीबार प्रधानमन्त्री दाहाल आफैं कीर्तिपुर क्रिकेट मैदान पुगेर खेलाडीलाई प्रोत्साहित गरेका थिए ।
उता, मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्त्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही दुई लाख रुपैयाँ प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए ।
सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गरेका छन् ।