लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त पाएका छन् । मंगलबार बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।

आज बसेको प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको सभामुख तुलाराम घर्ती मगरले घोषणा गरे ।

नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ को उपनियम (४) बमोजिम मुख्यमन्त्रीले प्रदेशसभामा विश्वास मतको प्रस्ताव राख्दा उनको पक्षमा ५३ मत परेको छ ।

यस्तै विश्वासको मतको विपक्षमा २९ र चारजना तटस्थ रहेका छन् । प्रदेश सभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा ८ दलका ५२ जना र १ स्वतन्त्र सांसदगरी ५३ जनाले मतदान गरेका छन् । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ९, नागरिक उन्मुक्ति पार्टीको ४, जसपा, लोसपा र जनमतका ३–३, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाका १–१ र स्वतन्त्र सांसद १ सहित ५३ जनाले मतदान गरेका थिए ।

यस्तै विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका ४ गरी ३३ जनाले मतदान गरे । प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री चौधरीले प्रदेशका जनताको आर्थिक समृद्धिका लागि प्रतिपक्षसँग पनि सहकार्य गरिने बताए । उनले प्रदेशका जनतालाई आशा र विश्वास दिलाउनेगरी काम गर्ने र प्रदेशको अधिकार प्राप्तिका लागि बिपक्षी दललाईसँगै हिँड्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त चौधरीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा छन् ।

यही वैशाख १५ गते मुख्यमन्त्री चौधरीसँगै शपथ लिएका तीनजना मन्त्रीको अहिलेसम्म विभागीय जिम्मेवारी तोकिएको छैन । माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुिक्त पार्टीका धर्मबहादुर चौधरी बिनाविभागीय मन्त्री छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय