काठमाडौं– इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार नेपाल आयल निगमलाई डिजेलमा प्रतिलिटर १८ रुपैयाँ नाफा हुने भएको छ । तैपनि निगम डिजेलको मूल्य नघटाउने मुडमा छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ५ रुपैयाँ र मट्टीतेलमा ३० रुपैयाँ नाफा हुने निगम प्रवक्ता मनोजकुमार ठाकुरको भनाइ छ । हवाई इन्धनमा भने निगमलाई प्रतिलिटर ३८ रुपैयाँ नाफा हुनेछ ।

मे १ मा इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ४.३७ रुपैयाँ, डिजेलमा ४.१६ रुपैयाँ, मट्टीतेलमा ३.४८ रुपैयाँ, हवाई इन्धन २.९५ रुपैयाँ र सबैभन्दा बढी एलपी ग्यासमा प्रतिसिलिन्डर ३०९.५१ रुपैयाँले मूल्य घटेको छ ।

मूल्य घटेर आउँदा पनि एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय १८ रुपैयाँ घाटा हुने निगमको भनाइ छ । नयाँ मूल्यसूची अनुसार निगमलाई एलपी ग्यासबाहेक सबै इन्धनमा नाफा भए पनि निगम व्यवस्थापन भने दायित्व सबै चुक्ता भएपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य घटाउने मुडमा छ ।

यसअघि निगमले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा डिजेल, मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँको दरले र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य घटाएको थियो ।

यसपटक पनि सरकारबाट दबाब आए मात्र मूल्य घटाउने मुडमा निगम छ ।

अप्रिलसम्ममा निगमले भारतीय आयल कर्पोरेसनलाई ६ अर्ब रुपैयाँ र सरकारलाई ३ अर्ब ३० करोड रुपैयाँ गरी कुल १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यो दायित्वमा निगमले ७ प्रतिशतको दरले ब्याज भुक्तानी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय