काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको कम्पनी दर्ता प्रक्रिया सुरु भएको छ ।

काठमाडौंमा उपलब्ध संस्थापकहरुले कम्पनी दर्ताका लागि प्रबन्धपत्रमा हस्ताक्षर गरेका छन् । संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायतले प्रबन्धपत्रमा हस्ताक्षर गरेको संघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो कम्पनीमार्फत नेपालमा कम्तीमा १० अर्ब लगानी ल्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको छ ।

संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए । नेपालमा लगानी गर्न यसले बाटो खुला गरेको उनले बताए ।

कुनै पनि देशको समृद्धिका लागि सामूहिक लगानी आवश्यक भएकाले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर विकास र समृद्धिमा योगदान गर्न सक्ने उनको भनाइ थियो ।

संघका पूर्वअध्यक्ष तथा संरक्षक लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन गरिने बताए । नेपालमा लगानी गर्न चाहने जो कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत सानो सानो पुँजी पनि लगानी गर्न सक्ने उनले जानकारी दिए ।

यस्तै, अध्यक्ष पन्तले नेपालका लागि बहुप्रतीक्षित र ऐतिहासिक दिन भन्दै गैरआवासीय नेपालीलाई नेपालको समृद्धिका लागि योगदान गर्ने बाटो खुलेको बताए । १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाइसकेको उनले बताए । संस्थापकहरुको तर्फबाट १० प्रतिशत (एक अर्ब रूपैयाँ) लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले जानकारी दिए ।

यो अभियानको ८५ प्रतिशत लगानीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् । उनले दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आइपिओ जारी गरिने जानकारी गराए । (प्रशिक्षार्थी)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय