वीरगन्ज– जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी ९ सय ८४ वटा निवेदन दर्ता भएको छ ।

मिटरब्याजीका कारण दुःख पाएको भन्दै पीडितले हालसम्म ९ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशंकर साहले जानकारी दिए । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाई ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याज पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताए । अधिकांश पीडितहरूले स्वयं निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको उनको भनाइ छ ।

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनुका साथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको उनले बताए ।

समय सीमा सकिसकेपछि निवेदनमाथि जाँचबुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय