काठमाडौं– लगानी बोर्डको ५४औं बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासको लागि एसजेभीएन लोअर अरुण पावर डेभपलमेन्ट कम्पनीसँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरी अनुमोदनका लागि नेपाल सरकार मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने निर्णय गरेको छ ।

बोर्डको ५३औं बैठकको निर्णयअनुसार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरु सदस्य रहेको वार्ता समितिले एसजेभीएन लिमिटेड भारतसँग चरणबद्ध रुपमा वार्ता गरी सहमति सहितको पीडीएको अन्तिम मस्यौदा दस्तावेज तयार गरेको हो । बोर्डको अघिल्लो बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरिसकेको छ ।

आफ्नो उत्पादनको सम्पूर्ण ऊर्जा निर्यात गर्ने एवं निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी आवश्यक पूर्वतयारी समेत अगाडि बढिरहेको सन्दर्भमा ६६९ मेगावाट क्षमताको यस रुपान्तरणकारी परियोजनाको विकासले मुलुकको आर्थिक–सामाजिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको बोर्डको भनाइ छ । त्यस्तै बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत् परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारीपत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरेको छ ।

बैठकका बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले तल्लो अरुण जलविद्युत् परियोजनाको विकासका सन्दर्भमा वार्ता समिति, लगानी बोर्डको कार्यालय तथा सम्बद्ध सबै निकाय एवं पदाधिकारीबाट राष्ट्रिय हित प्रवर्द्धन हुने गरी परियोजना विकास सम्झौताको अन्तिम मस्यौदा तयार गर्न प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै परियोजना विकास गर्दा भविष्यमा पनि यसरी नै राष्ट्रिय हित अनुकूल हुने गरी कार्य गर्न नेपाल सरकारका सबै निकायहरुलाई निर्देशन दिएको बोर्डले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय