काठमाडौं– आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९–८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ । मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गए पनि बंैक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । शाखा विस्तारसँगै बैंकिङ कारोबार गर्ने जनसंख्या उल्लेख्य बढेको देखिएको छ ।

‘२०७९ फागुनसम्ममा बंैक तथा वित्तीय संस्थामा निक्षेप खाता चार करोड ९२ लाख पाँच हजार, कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६५ हजार र इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘चालू आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएका छन् ।’

पछिल्ला वर्षमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्थाको संख्या घट्दै गए पनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको छ । डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

क्युआर कोडमार्फत गरिने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ भने विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत हुने कारोबारमासमेत बढोत्तरी भएको छ । कोभिड–१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरूत्थान हुँदै गइरहेकोमा रुस–युक्रेन युद्धको असर र गत आर्थिक वर्ष आयातमा तीव्र वृद्धि हुँदा चालु आर्थिक वर्षमा नेपालको बैकिङ प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको छ ।

वित्तीय प्रणालीमा २०७९ फागुन मसान्तमा २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बंैक गरी कुल १ सय २० बंैक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । यसैगरी, २ पुनर्बीमा कम्पनीसहित ३६ बीमा कम्पनी, ३१ हजार ३ सय ७३ सहकारी संस्थाका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, हुलाक बचत बैंक र म्युचुअल फन्डसमेत सञ्चालनमा छन् ।

गत फागुन मसान्तसम्ममा लघुवित्तसमेत बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ६ सय २९ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसंख्या २ हजार ५ सय १० रहेको छ । यस्तो जनसंख्या २०७८ फागुनमा २ हजार ५ सय ७२ रहेको थियो ।

नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको छ । २०७९ पुस मसान्तमा वित्तीय क्षेत्रको कूल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८६.६ प्रतिशत रहेको छ ।

वित्तीय क्षेत्रअन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४.७ प्रतिशत र वाणिज्य बैंकको अंश ५८.८ प्रतिशत रहेको छ भने अन्य वित्तीय संस्थाको अंश १३.१ प्रतिशत प्रतिशत रहेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा १.३१ प्रतिशत रहेकोमा २०७९ पुसमा २.६३ प्रतिशत रहेको छ ।

२०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.३० प्रतिशत, नगद तथा बैंक मौज्दातको अंश ७.१६ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पुँजीमा कर्जाको अंश ८५.६० प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पुँजी र कुल पुँजीको अनुपात क्रमशः १०.०९ प्रतिशत र १२.२९ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिको प्रक्रिया जारी रहेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति हुने प्रक्रिया सुरु भएपश्चात् २०७९ फागुनसम्म दुई ५७ बंैक तथा वित्तीय संस्था यस प्रक्रियामा सामेल भएका छन् ।

सोमध्ये १ सय ८४ संस्थाको इजाजत खारेज भई ७३ संस्था कायम भएका छन् । चालु आर्थिक वर्षको फागुनसम्म १० वाणिज्य बैंक मर्जर तथा प्राप्तिको प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको संख्या २०७९ फागुनसम्म २६ बाट २१ मा झरेको छ । कोभिड–१९ को प्रभाव न्यून भएसँगै आर्थिक वर्ष २०७७–७८ देखि तीव्ररूपमा बढ्दै गएको निजी क्षेत्रतर्फको कर्जाको विस्तार पछिल्लो समय न्यून दरमा वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७–७८ मा २६.३ प्रतिशतले बढेको निजी क्षेत्रतर्फको कर्जा आर्थिक वर्ष २०७८–७९ मा १३.३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९–८० को फागुनसम्ममा यो ४.६ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय